ज्यानको भन्दा माछाको माया, खेतमै घर, माछाकै भर

कोरोना सङ्क्रमण फैलनुभन्दा अघिको समय दैनिक मजदुरी गरेर घरधन्दा चलाउँदै आउनुभएका कावासोती–१२, गैह्रीका जलन्धर मुसहरको विगत दुई महिनादेखि खेतकै बास भएको छ ।

धानको फाँटमा सानो कटेरो बनाएर रातभर माछा कुरेर बस्नु उहाँको दिनचर्या बनेको छ । रातभरि माछा कुरेर बस्नु उहाँको रहर होइन, बाध्यता हो ।
कोरोना सङ्क्रमण फैलनुअघि उहाँले घर बनाउने, अन्य ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आउनुभएको थियो । तर, कोरोनाका कारण गत वर्षको चैत महिनाबाट काम नपाएपछि गएको चार महिना कहिले भोकै त कहिले आधा पेट खाएर जेनतेन गुजारा चलाउनुभएका जलन्धरले विगत दुई महिनादेखि भने खेतको माछाको भरमा परिवारको गर्जो टार्दै आएको सुनाउनुभयो ।

‘रातिमा माछा अलि धेरै पर्छन्, त्यसैले रातभरि जाल थापेर कुरेर बस्छु । बिहान त्यही बेचेर रासन ल्याउछु,’ जलन्धरले भन्नुभयो, ‘सुरुसुरुमा रातिमा जाल थापेर छोड्थेँ, बिहान माछा लिन आउदा त सबै चोरेर लगिदिन्थे । माछा नै हुन्थेन । त्यसैले त्रिपालले बेरेर सानो कटेरो बनाएर रातभरि यहीँ सुत्छु ।’
एकातिर चोरको डर अर्कोतिर खेतको ठूलो फाँटमा जङ्गली जनावर गैँडा, बँदेल र रातभरिको अँध्यारो समयको समेत पर्वाह नगरी उहाँ एक्लै कटेरोमा माछा मार्न बस्नुहुन्छ । रातभरिमा बढीमा दुई किलोसम्म माछा पर्छ, नभए एक किलो निस्कन्छ । कहिले जालमा माछा नै पर्दैन । केही ठूलो खालको सिद्रा माछा प¥यो भने किलोको चार सयसम्म पर्छ । सानोको खरिददारले मोलमोलाई गरी दुईदेखि तीन सय किलोसम्म लिन्छन् । भोटी माछा पनि तीन सय रुपियाँसम्म बिक्री हुने गरेको जलन्धरले बताउनुभयो ।

रातभरि जालमा परेको माछा बटुलेर बिहानीपख बिक्री गर्न कावासोती बजार आउने गरेको उहाँ बताउनुहुन्छ । कहिलेकाहीँ बाटोमा हिँड्ने बटुवाले पनि खरिद गर्छन् । माछा बिक्रीबाट महिनामा १० हजारसम्म कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ ।

यस क्षेत्रमा जलन्धरका जस्तै करिब १० वटा यस्ता केटेरा छन् । युवादेखि वृद्धसम्म रातभरि माछा कुरेर बस्छन् । थारु र मुसहर समुदायको बाहुल्य रहेका यस समुदायका व्यक्तिहरु ऋधिकांशले ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए । तर, कोरोना सङ्क्रमणका कारण काम बन्द भएपछि उनीहरुलाई दुई छाक टार्न पनि धौधौ भएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com