भक्तपुरमा डलर देखाई लुटपाट गर्ने समूह एउटै परिवारका सदस्य

भक्तपुरमा विगत केही समयदेखि श्रृंखलाबद्धरुपमा डलर देखाइ लुटपाट गर्दै आएका समूह एउटै परिवारभित्रका सदस्य र प्रायः सबै एउटै स्थानका बस्ने रहेको खुल्न आएको छ। प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्नेक्रममा डलर देखाई लुटपाट गर्ने समूह काठमाण्डौं उपत्यकामा विभिन्न पेशा व्यवसाय गरी बस्ने एउटै परिवारका सदस्य र एकै स्थानमा बसोबास गर्ने छिमेकीहरु भएको खुल्न आएको हो।

प्रहरीका अनुसार जग्गा व्यवसाय, ट्रक चालक, ट्याक्सी चालक र मजदुरका रुपमा कार्यरत एउटै परिवारभित्रका सदस्यहरुले व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई सस्तोमा डलर साट्ने बहानामा लोभमा पारी लुटपाट गर्दै आएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक केशवकुमार थेवेले जानकारी दिए।

अनुसन्धानको क्रममा यो समूहको विभिन्न १८ वटा लुटपाटका घटनामा संलग्नता देखिएको छ। ती १८ वटा घटनामा हालसम्म १ करोड १५ लाख भन्दा बढी रकम लुटिएको खुल्न आएको छ। पिडितहरु सम्पर्कमा आउने क्रम जारी रहेकाले पीडित र रकम बढ्न सक्ने प्रनाउ थेवेले बताए।

प्रहरीले डलर देखाई लुटपाट गर्ने समूहका १२ जनालाई शुक्रवार सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेका १२ जनामध्ये ५ जनालाई प्रहरीले मध्यपुर थिमि ९ बोडेबाट गत असोज ९ गते पक्राउ गरेको थियो।

तिनीहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाण्डौं गोकर्णेश्वर–१ बस्ने ३६ वर्षिय खेल बहादुर तामाङ, ३३ वर्षिय रेल बहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे–६ घर भई हाल भक्तपुर मध्यपुर थिमि–९ बस्ने ५६ वर्षीय श्याम बहादुर तामाङ, २५ वर्षिय रामकृष्ण तामाङ, ३२ वर्षीया कान्छी तामाङ छन्।

त्यस्तै, सिन्धुपाल्चोक बाह्रबिसे–३ घर भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षिय निर्मल भण्डारीलाई प्रहरीले असोज १३ गते चाँगुनारायण नगरपालिका ८ रातोपाटीबाट पक्राउ गरेको हो। यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल भक्तपुर सुडाल बस्ने २८ वर्षिय, कमल भण्डारी, बाह्रबिसे–४ घर भई हाल भक्तपुर कालोपाटी बस्ने २७ वर्षिय राकेश भण्डारी र बाह्रबिसे–३ घर भई हाल काठमाण्डौ बालाजु बस्ने बर्ष ३९ को सन्च बहादुर योञ्जनलाई भक्तपुर कालोपाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेका बाह्रविसे–२ घर भई हाल काठमाण्डौं जोरपाटी बस्ने ३३ वर्षीय राज कुमार तामाङलाई काठमाण्डौं जोरपाटी, बाह्रविसे–४ घर भई हाल भक्तपुर लोकन्थलीबस्ने ३१ वर्षिय धन बहादुर भण्डारीलाई असोज २० गते मध्यपुर थिमि–२ दिव्यश्वरी टाउन प्लानिङबाट पक्राउ गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक केशवकुमार थेवेले जानकारी दिए।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com