बलेविरुद्ध २० करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

जुवा खालबाट पक्राउ परेका बले भनेर चिनिने गुन्‍डा नाइके रामप्रसाद सापकोटाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । जुवाखालमा भेटिएको ७ लाख रुपैयाँको स्रोत नखुल्दा उनी सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा तानिएका हुन् ।

विभागले विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरणको मुद्दामा सापकोटामाथि १७ करोड ५२ लाख ७७ हजार २ सय ६० करोड बिगो कायम गरी जरिवाना र कैद गर्न माग गरिएको छ । ‘क्यासिनो किङ’ भनेर चिनिने सापकोटा ०७६ कात्तिक १० गते महाराजगन्जमा विक्रम गौतमको घरमा अवैध जुवा कौडा खालबाट २५ जनासँगै पक्राउ परेका थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जले साङ्बु शेर्पा नामको तीन लाखको चेक, कौडा ३२ थान र ४ बुक ताससहित सापकोटालाई पक्राउ गरेको थियो । त्यसको ५ दिनपछि कात्तिक १५ गते महानगरीय प्रहरी वृत्तले सम्पत्ति शुद्धीकरणमा उजुरीपत्र दायर गरेको थियो ।

प्रहरीसँग बयानका क्रममा सापकोटाले सात लाख ४० हजार आफ्नो साथबाट बरामद भएकामा ४० हजार मात्र आफ्नो भएको बताएका थिए । ४० हजार तलबबापतको रकम भएको बताएका सापकोटाले पछि बयान फेर्दै सात लाख भने आफ्नो नभएको बयान दिएका थिए ।

‘‘उक्त जुवा मुद्दामा बयान हुँदाका दिन हतार-हतार भएको र सोही क्रममा बयान राम्रोसँग नपढी दस्तखत गरेको थिएँ,’’ सापकोटाले पछिल्लो बयानमा भनेका छन् ।

सापकोटाकी श्रीमतीविरुद्ध पनि मुद्दा
सापकोटासँगै उनको श्रीमती सिर्जना कक्षपतिको नाममा रहेको सम्पत्तिको पनि स्रोत नखुलेको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ । कक्षपतिको नाममा रहेको सम्पत्तिको पनि स्रोत नखुलेको विभागको अनुसन्धानबाट खुलेको छ । विभागले दायर गरेको मुद्दामा कक्षपतिविरुद्ध २ करोड ५८ लाख ६४ हजार ७ सय ४७ रुपैयाँ विगो कायम गर्न माग गरिएको स्रोतको दाबी छ

लगानी अनुपातमा कर तिरेको देखिएन
सापकोटाले विभिन्‍न कम्पनीमा लगानी गरेका छन् । तर, उनले लगानी अनुपातमा सरकारलाई कुनै कर, राजस्व तिरेको नदेखिएको विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।

क्यासिनो रोयलमा गैरकानुनी किसिमले टेबल सञ्‍चालन गरेको, श्रीमतीको नाममा खाता खोली काठमाडौं र पोखराका क्यासिनोसँग कारोबार गर्ने गरेको विभाको अनुसन्धानमा देखिएको छ । त्यस्तो कारोबार सापकोटाकी पत्नी कक्षपतिको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता विवरणबाट देखिएको मुद्दामा उल्लेख छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com