गृहमन्त्रीज्यू, कति महिलाको बलात्कारले तपाईंलाई चिन्तित बनाउँछ ?

माननीय गृहमन्त्रीज्यू ! म एक नेपाली हुँ, महिला हुँ, छोरी हुँ, बहिनी हुँ, श्रीमती हुँ, बुहारी हुँ र आमा हुँ ।

यीमध्ये ‘आमा’ मेरो जिन्दगीको सबैभन्दा प्रिय भूमिका हो । यही भूमिकाले, यससँग सम्बन्धित जिम्मेवारीले, भावुकताले आज मलाई देशको गृहमन्त्रीलाई पत्र लेख्न बाध्य बनाएको छ । (मेरो यो साहस तपाईंलाई दुस्साहस लाग्न सक्छ तर, सन्तानका लागि आमा जुनसुकै दुस्साहस गर्न पनि तयार हुन्छे ।)

गृहमन्त्रीज्यू ! केही दिनयता मन विचलित छ । कोभिड–१९ को महामारीबाट जीवनका हरेक पक्षमा गडबडी भएको छ । भाइरसदेखि तर्सिएको मन तपाईंको अभिव्यक्ति सुनेदेखि आतंकित छ । देशमा दिनहुँ औसतमा सातजना महिलाको बलात्कार हुनुलाई तपाईं ‘चिन्ताजनक अवस्था नरहेको’ भन्नुहुन्छ ।
सायद सात तपाईंलाई सानो अंक लाग्दो हो । यहाँलाई बलात्कार सामान्य घटना लाग्दो हो, मानौं बसमा कसैले पाकेट मारेको होस् । यसको जघन्यता, नृशंसता, बर्बरता, अमानवीयता आदिको हिसाब अंकमा हुन सक्दैन ।

‘झन्डै सवा दुईसय देशको अवस्था विश्लेषण गर्दा हामीले धेरै चिन्तित हुनुपर्ने स्थिति होइन । सवा दुईसयमध्ये पछाडिबाट हेर्दा हामी टप १५ भित्र छौं ।’ तपाईंको यस्तो विश्लेषण देखेर विस्मित छु । पत्याउनै गाह्रो भइरहेको छ, शान्ति, सुरक्षा र सुव्यवस्थाको जिम्मेवारी सम्हालिरहेका एकजना मन्त्रीको भनाइ हो यो ।

देशको गृहमन्त्रीको विचार हो । चकित छु– तपाईंले कसरी यस्तो गैरजिम्मेवार र असंवेदनशील अभिव्यक्ति दिन सक्नुभयो ? कसरी तपाईं बलात्कार पीडितप्रति संवेदनाशून्य हुन सक्नुभयो ?

गृहमन्त्रीज्यू म ढुक्क भएर हिँड्न चाहन्छु । काखमा छोरी च्यापेर निर्धक्क सुत्न चाहन्छु । भोलिका दिनमा छोरी घर ढिलो फर्किंदा ‘केही भयो कि?’ भन्ने चिन्ताबाट मुक्त हुन चाहन्छु । बलात्कार विरुद्ध कडा कानुन बनोस् भन्ने चाहन्छु ।
‘बलात्कारजस्तो जघन्य अपराधबाट कुनै पनि बालिका, किशोरी, महिला पीडित हुनुहुँदैन’ भन्नुको साटो, तपाईं ‘चिन्तित हुनुपर्ने स्थिति होइन’ भन्नुहुन्छ । यो संवेदनहीनताको पराकाष्ठा होइन र, गृहमन्त्रीज्यू ?

दिनमा कतिजना महिला बलात्कार भएपछि ‘हामीले धेरै चिन्तित हुनुपर्ने स्थिति’ आउँछ ? सात चिन्ताजनक अंक होइन भने कतिचाहिँ चिन्ताजनक अंक हो ? यहाँले धेरै चिन्तित हुनुपर्ने स्थिति कहिले आउँछ ?

दिनहुँ ७० जना वा सात सय जनामहिला बलात्कृत भएपछिमात्र यहाँहरूले चिन्ता लिन थाल्नुहुन्छ ? कि यो संख्या सातहजार पुग्नुपर्छ ? कृपया प्रष्ट पारिदिनुहोला !

हरेक दिन हुने सात बलात्कार तपाईंका लागि घटना हुन सक्छन् । प्रहरीका लागि ‘केस’ हुन सक्छन् । तर, पीडितका लागि के हो ? सोच्नुभएको छ ? आजीवन निको नहुने, नभरिने घाउ हो जसले शारीरिकमात्र होइन, मानसिक पीडाको पहाडमुनि थिचिदिन्छ ।

शारीरिक घाउ त केही समयपछि भरिएला पनि (यदि बलात्कारीले हत्या गरेन भने) तर, त्यसले दिने मानसिक पीडा अनुमान गर्न सक्नुहुन्छ ? तपाईं त्यसको कल्पना पनि गर्न सक्नुहुन्न भन्ने कुरा तपाईंको अभिव्यक्तिले दर्शाएको छ ।

गृहमन्त्रीज्यू, मेरी सानी छोरी छे । राति ऊ मेरो काखमा मस्त निदाउँछे । तर, म निदाउन सक्दिनँ । घर आँगनमा ऊ खेल्छे, रमाउँछे, खुशी हुन्छे । उसको खुशीमा खुशी भएर पनि म खुशी हुन सक्दिनँ । किनकी, मलाई एउटै डरले सताइरहेको हुन्छ, ‘कुनै गिद्धले छोरीमाथि नजर पो लगाएको छ कि !’

यो मेरोमात्र होइन, मजस्ता लाखौं आमाको चिन्ता हो । धेरैलाई यस डरले पिरोलिरहेको छ । अनि तपाईं भन्नुहुन्छ, ‘चिन्तित हुनुपर्ने स्थिति होइन ।’

गृहमन्त्रीज्यू, ‘सुन्दर शान्त नेपाल’मा किन बालिका, किशोरी, महिलाले ढुक्क भएर हिँड्न पाइरहेका छैनन् ? ‘कुनचाहिँ मनोरोगी पुरुषले कुन ठाउँमा मेरो अस्मितामा प्रहार गर्छ’ भन्ने भयले किन उनीहरूलाई पछ्याइरहेको छ ? महिलाको शरीरमाथि जबर्जस्ती गर्ने अधिकार कुनै पनि पुरुषलाई किन होस् ?

तपाईं त देशका नागरिकको सुरक्षालाई पहिलो कर्तव्य ठान्ने मन्त्रालयका मन्त्री हुनुहुन्छ । आपराधिक क्रियाकलाप पनि नियन्त्रण गरी जनतालाई शान्तिको प्रत्याभूति दिने गृहमन्त्रालयमा हुनुहुन्छ । तपाईंले ‘चिन्तित हुनुपर्ने स्थिति होइन’ भन्न सुहाउँछ त !

नेपालको तुलना अमेरिकासँग गर्नुहुन्छ । त्यो पनि बलात्कारमा ! अमेरिका, भारतजस्ता विश्वगुरु बन्ने दौडमा रहेका राष्ट्रसँग बलात्कारका घटनामा नेपालको तुलना गरेर तपाईंले बलात्कारीलाई बढावा दिन खोज्नुभएको हो ? ‘रेप कल्चर’ लाई मलजल गर्न खोज्नुभएको हो ?

आफूले जन्माएको छोरीको मृत रगताम्मे नग्न शरीर देख्दा आमालाई कस्तो हुन्छ होला ? त्यो कल्पना मात्रले शरीरमा काँडा उम्रिन्छन् । मुटु छाती छेडेर बाहिर निस्कन खोज्छ ।

‘जेल जानुपरे जाउँला तर बलात्कारी गोली ठोकिदिन्छु, यदि मेरो छोरीलाई कसैले केही गर्‍यो भने’ एकजना साथीले भन्ने गरेकी छिन् । गृहमन्त्रीज्यू, यो कुनै आवेशमा पोखिएको भावना होइन, यो आफ्नी छोरीप्रति आमाको चिन्ताको भाव हो, सुरक्षाको चाहना हो । जो प्रत्येक नेपाली महिलाले तपाईंबाट चाहिरहेका छन् । तर, त्यस विपरीत तपाईं आफ्ना नागरिकलाई आश्वस्त तुल्याउन ‘सात बलात्कारका घटनामा चिन्तित हुनुपर्दैन’ भन्नुहुन्छ ।

मेरी अर्की साथी भन्छे– ‘मृत्युदण्ड दिन नसकेपनि कडाभन्दा कडा कानुन त ल्याउन सकिन्छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भनेझैं बलात्कारीको सर्जरी गरी उसलाई नपुंसक त बनाउन मिल्छ होला नि ! यसो हुँदा उसले बलात्कारको घाउको पीडा आजीवन महसुस गर्न सक्छ । शारीरिक, मानसिक, सामाजिक पीडा पीडितले मात्र किन पीडकले पनि भोगोस् न !’

यो पनि काँचो आक्रोशमात्र होइन । हुर्केका, नहुर्केका छोरीका आमाहरूलाई प्रतिपल खाइरहने चिन्ता हो । तर, खासमा सर्जरी गरेर ‘ठीक’पार्नुपर्ने त पितृसत्तालाई हो ।

अवस्था चिन्ताजनक मात्र होइन, कहालीलाग्दो छ । डरलाग्दो छ । एकफेरि चिन्तन गरी हेर्नुस् । चिन्ताको विषय हो–होइन छर्लङ्ग हुनुहुनेछ ।

गृहमन्त्रीज्यू म ढुक्क भएर हिँड्न चाहन्छु । काखमा छोरी च्यापेर निर्धक्क सुत्न चाहन्छु । भोलिका दिनमा छोरी घर ढिलो फर्किंदा ‘केही भयो कि?’ भन्ने चिन्ताबाट मुक्त हुन चाहन्छु । बलात्कार विरुद्ध कडा कानुन बनोस् भन्ने चाहन्छु ।

आशावादी हुँदाहुँदै पनि ‘पछाडिबाट टप १५’मा रहेकोमा सन्तोष प्रकट गरिरहेका गृहमन्त्रीबाट अपेक्षा राख्नु उचित होला र ? भन्ने प्रश्न मेरा सामु यथावत् तेर्सिएकै छ । संगीता श्रेष्ठ

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com