कुलमान प्राधिकरणमा फर्किन नपाए के छन भावि योजना ?

कुलमान अहिले ‘पर्ख र हेर’ कै अवस्थामा छन् । मुखले व्यक्त नगरे पनि सरकारले अझै पनि आफ्नो विषयमा केही निर्णय लिनसक्ने आँकलन उनले गरेको देखिन्छ । त्यसले पनि आफ्नो भावि योजना तय गर्न उनलाई अलमल भइरहेको छ । तर, उनी लामो समय यत्तिकै बस्न सक्ने मान्छे होइनन् ।

‘यदि जनचाहनालाई कु’ल्चिदै सरकारले तपाईंलाई कतै पनि नियुक्ती दिएन भने तपाईंका व्यक्तिगत योजना के छन् ? जनताले तपाईंलाई कस्तो भूमिकामा देख्न पाउलान् ?’ भन्ने प्रश्नमा कुलमान भन्छन- ‘मलाई कुनै हतारो छैन ।’

भावि योजनाका विषयमा कुनै ठोस निर्णय लिइनसकेको उनको भनाइ छ । ‘आगामी दिनमा के गर्ने भन्ने सोच्दैछु । मैले जहाँ पायो त्यहाँ हात हाल्न पनि मिल्दैन । कुनै कम्पनीमा जागिर खाएर बस्ने कुरा पनि आएन । राम्ररी सोचेर निर्णय लिन्छु ।’

कुलमानका कट्टर समर्थकहरुले उनलाई अब प्राधिकरणको कार्यकारी निर्देशकभन्दा माथिल्लो ओहदामा देख्न चाहन्छ । उनले राजनीतिमा आएर मन्त्री वा प्रधानमन्त्री बन्न बाटो खोल्नुपर्छ भन्नेहरु पनि छन् । ‘भोलि राजनीतिमा आएर मन्त्री/प्रधानमन्त्री बन्ने कुरा तपाईंको विकल्पमा पर्छ कि पर्दैन ?’

यो प्रश्नको उत्तर दिदै उनले भने -‘यो परिस्थितिले तय गर्ने कुरा हो । भविष्यको परिस्थिति कस्तो हुन्छ, त्यसै अनुसार अघि बढ्छु । अहिले केहि सोचिसकेको छैन ।’

राजनीतिमा उनलाई कतिको रुचि छ ? भन्छन- ‘म कार्यकारी भूमिका र लिडरसिपमा फिट हुने मान्छे हो । लिडरसीप भनेको हरेक क्षेत्रको हुन सक्छ । सकेसम्म त कर्पोरेट लिडरसिप नै गर्छु । त्यो पनि ऊर्जाकै क्षेत्रमा । होइन, त्यस्तै परिस्थिति आयो भने अरु विकल्पमा पनि सोच्न सकिन्छ । त्यो परिस्थितिले तय गर्छ । मैले अपेक्षा गरेर मात्रै हुने कुरा होइन ।’

तपाईंले देशभित्र जहाँबाट जोसित चुनाव लडे पछि जित्नुहुन्छ भन्ने चर्चा सुनिन्छ । तपाईंलाई त्यस्तो लाग्छ कि लाग्दैन ? भन्ने प्रश्नमा उनी थप्छन- ‘चुनाव जित्नु मात्रै ठूलो कुरा होइन । म त जितौंला रे । तर, त्यसपछि ह्वाट नेक्स्ट भन्ने हुन्छ नि । चुनाव जित्नेभन्दा जितेर के गर्ने भन्ने महत्वपूर्ण प्रश्न हो । कुनै पनि क्षेत्रमा जाँदा स्पष्ट भिजन हुनुपर्छ । जहाँ बस्दा पनि राष्ट्रकै लागि योगदान गर्ने हो । परिस्थितिले कता डोहोर्याउँछ हेरौं । म लचक नै छु । बाहिर आएपछि त धेरै कुरा सोच्न सकिन्छ नि ।’

कार्यकारी भूमिकामा बढी रुचि भएकाले राजनीतिमा गइहालुँ भन्ने लाग्छ कि लाग्दैन ? उनि भन्छन -‘राजनीति पनि कार्यकारी नै हो नि । मन्त्रीभन्दा कार्यकारी के हुन्छ । हेर्दै जाउँ परिस्थिति कस्तो आउँछ । म सरकारले के निर्णय गर्ला भनेर पर्खेर बसिरहेको चाहिँ छैन ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com