डा. केसीको अनशनप्रति प्रधानमन्त्री ओलीको चासो, माग पूरा गर्न वार्ता सुरु

अनशन बसेको तीन हप्तापछि सत्तारुढ दलको बैठकमा डा. केसीबारे छलफल भएको हो। १९औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको माग सम्बोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन्।

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई डा. केसीको जीवनरक्षाबारे सदस्यहरुले चासो राखेका छन् । सदस्यहरुले डा. केसीको अनशन र उनको जीवनरक्षाबारे जिज्ञासा राखेपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यसबारे आफूले चासोका साथ काम अघि बढाएको जानकारी गराएका हुन् । उनले डा. केसीको माग सम्बोधन गर्न सरकारले वार्ता सुरु गरेको बैठकलाई जानकारीसमेत गराएका छन्।

बैठकको अधिकांश समय डा. केसीबारे खर्चेका नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षाका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । जवाफमा ओलीले आफूले आवश्यक रुपमा पहल गरिरहेको जानकारी दिए। शिक्षा सचिव गोपीनाथ मैनालीलाई कुरा गर्न डा. केसीकहाँ पठाएको र डा. केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने जवाफ दिएको बैठकमा प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका छन्।

नेकपा सचिवालय बैठक बस्नुअघि मंगलबार शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोली डा. केसीलाई भेट्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेको थियो। साथै बैठक बस्नु अघि सचिवालय सदस्य तथा वरिष्ठ नेता पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले डा. केसीको जीवनरक्षा गर्न सरकारले पहल थाल्नुपर्ने बताएका थिए। मंगलबार बसेको नेकपा सचिवालय बैठकले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com