खसीबोका बिक्रीबाट एउटै गाउँमा भित्रियो दुई करोड रुपैयाँ

बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट झण्डै दुई करोड भित्रिएको छ। जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका दुई सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका विक्रीमार्फत रु दुई करोड भित्र्याउन सफल भएका हन्।

काठेखोला गाउँपालिका-४ तङ्ग्रामा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत ६ वर्षदेखि बाख्रापालन व्यवसायमा गर्दै आएका हुन्।

आर्थिक वर्ष २०७६-७७ मा सप्तरङ्गी सहकारीमार्फत ७१३ खसीबोका बिक्री गरी रु ८६ लाख ६८ हजार २५७ आम्दानी गरिएको संस्थाका सहप्रबन्धक नरमाया पुनले जानकारी दिए।

यस्तै वसन्त सहकारीमार्फत ७१४ वटा खसीबोका बिक्री गरी रु ९२ लाख ९६ हजार ६५ आम्दानी गरिएको संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिए। दुई सहकारीमा आबद्ध महिला शेयर सदस्यले उत्पादन गरेका खसीबोका बिक्रीबाटै आर्थिक वर्ष २०७६-७७ मा मात्रै रु एक करोड ७९ लाख ६४ हजार ३२२ रकम भित्र्याएको हो।

सहकारीका शेयर सदस्यमध्ये कतिपयले २५ वटासम्म बोका बिक्री गर्ने गरेको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिए। उनका अनुसार तङ्ग्रामका खसीबोका बागलुङ बजार र आसपासका क्षेत्रमा बिक्री हुँदै आएका छन्।

महिलालाई सदस्य बनाई आयआर्जनमा केन्द्रित गरेको र उनीहरुलाई परिवारका पुरुष सदस्यले सहयोग गरेका कारण विगत ५ वर्षदेखि एक सहकारीले मात्रै वार्षिक रु एक करोडभन्दा बढी रकम आम्दानी गर्न थालेका छन्।

घरका महिला सहकारीका सदस्य बनेका छन्, उनीहरुलाई पुरुषले पनि राम्रो सहयोग र समन्वय गरेका कारण वर्षमा एक हजार ४०० वटाभन्दा बढी खसीबोका तङ्ग्रामका दुईवटा सहकारीमार्फत बजारमा बिक्री हुने गरेका छन्। सहकारीका सदस्यले बाख्रा पाल्ने, सहकारी संस्थाले खरिद गरेर बिक्री गर्दै आएका छन्।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com