प्रदेश ५ को राजधानी बनेसँग भालुबाङमा खुसीयाली, दीप प्रज्वलनको तयारी
प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानीको टुंगो लागेपछि दाङको भालुबाङमा उक्त निर्णयको भव्य स्वागतको तयारी गरिएको छ।
भालुबाङमा दीप प्रज्वलनको तयारी भइरहेको स्थानीय अगुवा गञ्जबहादुर बिष्टले बताए।
‘प्रदेशसभाबाट ऐतिहासिक र न्यायिक निर्णय भएको छ। यसको हामी खुलेर स्वागत गर्दछौँ’, उनले भने, ‘प्रदेशसभाका माननीयसहित मुख्यमन्त्रीलाई सलामले अभिनन्दन गर्न चाहन्छौँ।’
स्थानीय सरकार, व्यवसायी, सर्वसाधारण, राजनीतिक दल, संघ संस्थाको तर्फबाट स्वागतको तयारी गरिएको हो। नेपालको राष्ट्रिय झण्डा फहराएर, दीप प्रज्वलन गरेर राजधानीलाई स्वागत गर्न लागिएको हो।
प्रदेशसभाको दुई तिहाई मतले मंगलबार दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिका राप्ती नदीको किनार (राप्ती उपत्यका) देउखुरीलाई राजधानी बनाउने निर्णय पारित गरेको छ।