मुख्यमन्त्रीकै कारण ढुंगा हान्ने र कुर्सी फुट्ने अवस्था आयो
प्रदेश ५ को संसद् बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमतिमा राजधानीको टुंगो लगाउनुपर्ने बताएका छन्। कसैको भेगीय स्वार्थका कारण प्रदेश ५ को राजधानी चलाउन नपाइने बताए।
राजधानीको मुद्दा कसैको रहरको विषय बनाउन नहुने भन्दै उनले सुझबुझपूर्ण राजनीतिक निर्णय गर्नुपर्ने र त्यसमा सहमतिको वातावरण बनाउनुपर्ने बताए। साथै उनले सरकारलाई दूरदर्शिता देखाउनसमेत आग्रह गरेका छन्।
मुख्यमन्त्री शंकर पोखरेलकै कारणले अहिलेको हिंसात्मक अवस्था आएको उनको भनाइ छ। उनले भने, ‘मुख्यमन्त्रीजीको गाडीमा ढुंगा हान्ने, सभामा अमर्यादित काम हुने अवस्था कसरी आयो? जिम्मेवार को? दुईतिहाइको दम्भमा अघि बढ्ने? सहमतिको राजनीति बिर्सेको?’ सरकारले प्रतिपक्षीलाई सम्मान नगरेको उनको आरोप छ।