आइटीमा डिग्री गरेका कुख्यात साइबर अभियुक्त प’क्राउ, यसरी गर्थे ब्ल्याकमेलिङ

साइबर अपराधमा संलग्न रही फरार रहेका एक कुख्यात अभियुक्त प’क्राउ परेका छन्।

नेपाल प्रहरीको टोलीले साइबर अपराधमा संलग्न रही फरार भएका ती व्यक्तिलाई पूर्वी नेपालको नेपाल भारत सीमा नाकाबाट प’क्राउ गरेको हो।

प’क्राउ पर्नेमा जुम्ला घर भएका पसल रोकाय छन्। नेपाल प्रहरीको विशेष टोलीले रोकायलाई काठमाडौं ल्याउँदै छ।

उनी आइटी इन्जिनियरिङमा डिग्री गरेका व्यक्ति भएको पाइएको छ। भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने रोकायविरुद्ध साइबर अपराध सम्बन्धीका ७/८ वटा मुद्दा दर्ता भएको स्रोतले जानकारी दियो। उनको निशानामा सर्वसाधरण व्यक्तिदेखि विभिन्न भिआइपी व्यक्तिसम्म परेका छन्।

उनले साइबरको प्रयोग गरेर धम्की दिनेदेखि ठगी गर्नेसम्म गरेको पाइएको छ ।

एक ठगको हर्कत: मिडियाको आड, हाइ प्रोफाइलको फेक अकाउन्ट र ब्ल्याकमेलिङ

नाम : पसल रोकाय

शैक्षिक योग्यता : बैंगलोर युनिभर्सिटीबाट ब्याचलर इन साइन्स इन इनफर्मेसन टेक्नोलोजी

काम: कर्णाली आवाज डटकम र कर्नाली एचडी यूट्युब च्यानलका सञ्चालक। शुभलक्ष्मी अस्पताल र संविधान कलेज भर्खरै दर्ता गरेको (जसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाई गराउने भनिएको)को अध्यक्ष। खिरिस निर्माण सेवा र संबिधान निर्माण सेवा आफ्नो नाममा दर्ता गरेको र ठेक्का पट्टा पनि गर्ने गरेको।

उमेर – केवल २६ वर्ष।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा जुम्लाको कनका सुन्दरी गाउँपालिका -७ रोकाया बडागाउँ स्थायी घर भएका पसल रोकायको संक्षिप्त परिचय यस्तो खुलेको छ।

प्रहरीले उनलाई फेक अकाउन्टहरु खोल्ने, फेक अकाउन्टबीच भएका कुराकानीका स्क्रिनसटहरु आफ्ना मिडियामा हालेर ब्ल्याकमेलिङ गर्नेसहित थुप्रै घटनामा संलग्न भएको आरोपमा आइतबार भारतबाट पक्राउ गरि काठमाडौं ल्याएको छ।

प्रहरीका अनुसार पसलले ठगी गर्ने र ब्ल्याक मेलिङ गर्ने केही उपायहरु छन्।

पहिलो– हाई प्रोफाइल व्यक्तिहरुको फेक अकाउन्ट खोल्ने।

दोस्रो– सामान्य मानिसको फेक अकाउन्ट खोल्ने।

तेस्रो– ती हाई प्रोफाइल व्यक्तिका फेक अकाउन्ट र सामान्य मानिसका फेक अकाउन्टबीच बार्गेनिङ भइरहेको च्याटको स्क्रिनसट लिने र मिडियामा हालेर ती हाइ प्रोफाइल व्यक्तिको बेइज्जत गर्ने।

चौथो– हाई प्रोफाइल व्यक्तिका फेक अकाउन्ट र आफूबीच च्याट भएको देखाएर सामान्य मानिसलाई प्रभावित गर्ने र ठगी गर्ने।

पाँचौँ– हाईप्रोफाइलसँग सँगै बसेर तस्विर खिच्ने र मानिसलाई प्रभावित पार्ने।

प्रहरीका अनुसार पसलले आफुविरुद्ध जाने व्यक्तिहरुको सामाजिक सन्जालमार्फत चरित्र हत्या गर्ने गरेका छन्। नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य व्यक्तिहरुको नाम तथा फोटोहरु सामाजिक सन्जालमा नक्कली आईडी बनाएर जागिर लगाई दिन्छु, लोकसेवामा पास गरिदिन्छु, नर्सिङ काउन्सिलको परिक्षामा पास गराईदिन्छु भनि बार्गेनिङ गरेको जस्तो दुवैतर्फको च्याट आफैले गरी त्यसको स्क्रिनसट निकालेर कर्णालीआवाज डटकम र कर्नाली एचडीमा हालेर चरित्र हत्या गरेको आरोप छ।

यसैगरि जिल्ला विकाश समिति कालिकोटका इन्जिनियरले करडौँ रुपैयाँ भष्ट्राचार गरेको आरोपमा उनलाई कालोमोसो दलेर निकाला गरिएको भन्दै पीडितको तस्विर एडिट गरी कालोमोसो दलेको जस्तो बनाएर आफ्ना मिडियामा सम्प्रेषण गरेको पनि उनिविरुद्ध आरोप छ। पसलले नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष जिवन भण्डारीले सरुवाको लागि ब्ल्याकमेल गरेको प्रमाण भिडियो हेरौँ, निज व्यक्ति बलात्कारी हो जस्तो शीर्षक राखेर भिडियो बनाई कर्णालीआवाज डटकम र कर्नाली एचडीमार्फत सम्प्रेषण गरेको आरोप छ।

प्रहरीका अनुसार शुभलक्ष्मी अस्पतालले ठगी गरेको आरोपमा सुर्खेतमा मुद्धा विचाराधीन छ। नेपाल मेडिकल काउन्सिलले जाहेरी दिएको थियो। पसल फरार थिए। पसल पहिलोपटक पक्राउ परेका भने होइनन्। यसअघि एक व्यक्तिलाई उसकी श्रीमतीको सम्बन्ध पहिला आफुसँग भएको र श्रीमतीलाई भगाई दिने धम्कि र तस्विरसहितको स्टाटस लेखेको आरोपमा पक्राउ परेका थिए। त्यही आरोपमा पक्राउ परेका पसल एक लाख रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।

आफ्नो अस्पताल रहेको, मेडिकल क्षेत्रका थुप्रैसँग चिनजान रहेको देखाएर पसलले नर्सिङ क्षेत्रमा आउने चाहने थुप्रै व्यक्तिलाई ठगी र निशाना बनाएको प्रहरीको दावी छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com