अबदेखि बोल्दा सजगता अपनाउछु: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताएका छन्।

विश्वको तुलनामा नेपालमा बलात्कार र महिलाहिंसाको अवस्था चिन्ताजनक छैन भन्ने अभिव्यक्ति विवादमा आएपछि थापाले आफ्नो अभिव्यक्तिले अलमल निम्त्याएको बताएका हुन्।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सोमबार भएको छलफलमा थापाले अन्य देशहरुको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अबदेखि सजगता अपनाउनुपर्ने बताए।

थापाले गत बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा विश्वका २ सय बढी मुलुकको तथ्याङ्क विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको बताएका थिए। उनले नेपालमा प्रतिदिन ६-७ वटा बलात्कारका घटना घट्ने गरेको पनि बताएका थिए।

आज समितिमा भएको छलफलमा सांसदहरुले अन्य देशको तुलना गरी नेपालको अवस्था चिन्ताजनक छैन भन्न नहुने बताएपछि गृहमन्त्री थापाले आफुले अब सजगता अपनाउने बताए।

समिति छलफलमा गृहमन्त्री थापाले नेपालमा कोरोनापछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताए। विगत वर्षहरुको तथ्याङ्क हेर्दा यो वर्ष घटनाहरु बढ्न सक्ने उनका भनाई छ।

सरकारले बलात्कार, महिला हिंसा र दलित समुदायमाथि हुने हिंसा न्यूनिकरणका लागि शून्य सहनशिलताको नीति अपनाएर अघि बढेको पनि उनले बताए।

सांसद उदया शर्मा पौडेलले प्रतिदिन ७ जना महिला बलात्कारको शिकार हुने तथ्याङ्क रहेकोमा गृहमन्त्रीले आत्तिनुपर्ने अवस्था छैन भनेर भन्न नहुने बताइन्।

सांसद राम लखन चमारले उत्पिडन वर्गले प्रहरी प्रशासनबाट अपेक्षाकृत न्याय पाउन नसके भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए । सांसद इन्दु कडरियाले महिला हिंसाका घटना बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिन्।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com