अस्पतालमा भेट्न आउने धेरैले सोधे-फेरि छोरी नै !

शान्ति प्रियवन्दना-महिलाले प्रयोग गर्ने शृंगारको साधन र अंगबारे विभिन्न समयमा बहस हुँदै आइरहेकै हो । आज म यहाँ सिन्दुरपोते र जिउडालको होइन, गर्भाशयसम्बन्धी कुरा गर्न गइरहेकी छु । यो सामाजिक राजनीतिक व्यवस्थामा महिलाहरूको आफ्नै अंगमाथि पनि आफ्नो अधिकार रहँदैन ।

गर्भाशय महिलाको शारीरिक अंगहरूमध्ये एउटा महत्वपूर्ण अंग हो, जहाँ महिलाले आफ्नो सन्तानको भ्रूणलाई हुर्काउँछे । त्यही गर्भाशयको अधिकार महिलासँग छैन । महिलाले आफ्नो गर्भमा कसको बच्चा राख्ने, जन्माउने, हुर्काउने, कति समयको अन्तरमा बच्चा जन्माउने र कतिवटा बच्चा जन्माउने भन्नेसम्मको निर्णय आफैँले गर्न पाउँदिन । अविवाहित र एकल महिलाले त केही दिन मात्रै विभिन्न कारणले महिनावारी हुने समय सर्‍यो भनेसमेत परिवार र समाजले उसलाई चिच्याई–चिच्याई सोध्छ, ‘कसको पाप बोकिस् ?’ यो समाज हरेक पल आमासँग परीक्षा लिइरहन्छ ।

बिहेबारी २० वर्षपारि भनिए पनि कतिपय अवस्थामा महिलाहरूले स्वेच्छाले र कतिपयको पारिवारिक दबाबले सानै उमेरमा हुन पुग्छ । यस्तोमा महिला करियर बनाउन अघि लाग्छन् । बालबच्चा ढिलो जन्माउने योजना बन्छ । त्यही वेला समाजले फेरि प्रश्न गर्छ, ‘फलानीको बुहारीले त बच्चै पाउन्न कि क्या हो ?’

समाजले सिकाउन थाल्छ, ‘एउटा बच्चा त जन्माइहाल्नुपर्छ । बच्चा हुर्किएपछि आफ्नो पढाइ अगाडि बढाउँदा के बिग्रिन्छ ? हजुर बा हजुरआमाको पनि त नाति–नातिना खेलाउने रहर हुन्छ नि !’ यस्तै प्रश्नहरू सामना गर्दा–गर्दा वाक्कदिक्क भएर कतिपय महिला आफ्नो प्रजनन अंगको राम्रोसँग विकास नहुँदै बच्चा जन्माउन विवश हुन्छन् ।

धेरै दिन भएको छैन, अस्पतालमा केही रात बिताएर फर्किएको । भाइबुहारी सुत्केरी भएकी थिइन् । केही दिन उनको हेरविचार गर्ने जिम्मा मेरो भागमा प¥यो । पहिलो सन्नान अप्रेसन गरेर भएको हो । दोस्रोको पनि अप्रेसन नै गर्नुपर्‍यो । यो महामारी र त्रासका बीच पनि परिवारको लगभग सबैजसो सदस्य अस्पतालमा उपस्थित थियौँ ।

अप्रेसन कक्षबाहिर कुरिरहेका हामीलाई बुहारीलाई भित्र लगेको केही बेरमा नर्सले ढोकाबाट बोलाइन् । म गएँ । ‘छोरी जन्मिएकी छिन्’ यसो भन्दै उनले भर्खर जन्मिएकी भदैलाई मेरो हातमा थमाइदिइन् । थाङ्नामा बेरिएकी बच्चीलाई च्यापेर आफ्नो छातीमा टाँस्दै म पोस्ट–अप्रेसन रुमबाट बाहिरिएँ । मैंले भाइको अनुहारमा हेरेँ र भनेँ, ‘छोरी जन्मिएकी छ ।’ भाइको अनुहारमा त्यही चमक दोहोरियो, जुन चमक पहिलोपटक छोरी जम्मिएको समयमा उसको अनुहारमा देखिएको थियो ।

मैंले पालैपालो सबैको अनुहारमा हेरेँ, बुबाआमालगायत सबैको आँखामा खुसी देखिन्थ्यो । नातिनीको अनुहारबाट आँखा हटाउँदै बुबाले सोध्नुभयो, ‘सुस्मितालाई कस्तो छ ?’ मैले उनलाई हेर्न नपाएको बताएसँगै भाइ पोस्ट–अप्रेसन रुमतिर लाग्यो । जहाँ जीवन र मरणको दोसाँधमा रहेर भर्खरै बच्चीलाई जन्म दिएकी बुहारी थिइन् । चार दिन बुहारी अस्पतालको पोस्ट–अप्रेसन वार्डमा र हामी पालैपालो बाहिर प्यासेजमा बसेर बच्चा हेर्‍याैँ ।

अहिले जहाँतहीँ छोरीहरू असुरक्षित छन् । प्रविधिको विकासले पेटभित्रसमेत छोरीहरू असुरक्षित छन् । समाजका सम्भ्रान्तदेखि विपन्नवर्गसमेतले गर्भभित्रकी छोरी र तिनै छोरीकी आमालाई समेत असुरक्षित बनाएका छन् ।

त्यसपछिका दिनमा अस्पतालमा भेट्न आउने धेरैले सोधे, ‘फेरि छोरी ?’ अस्पतालका सरसफाइका कर्मचारी, अन्य सुत्केरी महिलाका कुरुवा, सबैले सोधे, ‘पहिलो बच्चा हो ?’ हामी जवाफ दिन्थ्यौँ, ‘हैन, दोस्रो हो ।’ हाम्रो जवाफसँगै उनीहरू च्व च्व च्व गर्दै मौन रहन्थे । उनीहरूलाई हेर्दा लाग्थ्यो, छोरीको जन्मले हाम्रो घरमा ठूलो भुइँचालो नै गएको छ ।

उनीहरूको कुरा सुन्दा यस्तो लाग्थ्यो, सुस्मिताले दोस्रोपटक पनि छोरी जन्माएर पारिवारिक मात्र होइन, सामाजिक अपराध नै गरेकी छिन् । अस्पतालबाट उनलाई घर ल्याएपछि सुत्केरी भेट्न आउनेहरूको संख्या उल्लेख्य थियो । तर, उनीहरूमध्ये केहीको नजरमा दोस्रो सन्तान पनि छोरी जन्मिएकोमा दिक्दारी देखिन्थ्यो । दिक्दार मान्नेहरूमा आफ्ना बुहारीलाई भ्रूण पहिचान गर्न लगाएर छोरी छिन् भन्ने थाहा पाएपछि गर्भपतन गर्न लगाउने सासूहरू पनि थिए ।

समाजमा धेरै स्वघोषित समाजसेवीको पगरी गुथ्नेहरू छन्, जसले आफ्ना श्रीमती, छोरी र बुहारीलाई गर्भको भ्रूण पहिचान गर्न लगाएर छोरीको हत्या गर्न बाध्य बनाएका छन् । कहिलेकाहीँ सोच्छु– संयोगले बचेका छोरीहरू पढेर राम्रो स्थानमा पुगेको देख्दा गर्भमै हत्या गर्न खोजेका परिवारका अन्य सदस्यलाई कस्तो लाग्दो हो ?

अहिले जहाँतहीँ छोरीहरू असुरक्षित छन् । प्रविधिको विकासले पेटभित्रसमेत छोरीहरू असुरक्षित छन् । समाजका सम्भ्रान्तदेखि विपन्न वर्गसमेतले गर्भभित्रकी छोरी र तिनै छोरीकी आमालाई समेत असुरक्षित बनाएका छन् । दाइजोलगायत सम्पत्तिसँग जोडिएका त्यस्ता धेरै कुप्रथा, छोरीले वंश बढाउँदैनन् भन्ने संकुचित मानसिकता आदि कारणले छोरीहरू गर्भमै मर्न बाध्य छन् । कतिपय आमाहरूको ज्यान जोखिममा छ, कतिपय आमाहरूले अकालमा ज्यान गुमाइरहेकासमेत छन् ।

एउटी आमालाई भ्रूण परीक्षण गर्न र लिंगका आधारमा गर्भपतन गर्न बाध्य बनाउने यो पितृसत्तात्मक शासन व्यवस्था नै हो । यस्ता घृणित कार्य गर्नेहरू र गर्न लगाउनेहरूका लागि कानुनी व्यवस्था नभएको पनि होइन, तर धेरैजसो महिलाहरू स्वयं आफूले आफूमाथि भएको हिंसाबारे खुलेर भन्न सकिरहेका हुँदैनन् । यहाँ महिलाहरू जतिसुकै सक्षम तथा आत्मनिर्भर भए पनि यो शासन व्यवस्थाले पालेको वर्गले मुखुण्डो भिर्न छाडेको छैन । जबसम्म यो मुखुण्डो निकालेर असली चेहरा देखाइँदैन, तबसम्म महिलाहरूले आफूमाथि विभिन्न बहानामा भइरहेको अन्याय र अत्याचारविरुद्ध खुलेर विरोध गर्न सक्दैनन् ।

पैतृक सम्पत्तिमाथि छोराको मात्रै हक लाग्छ । छोराले नै वंश अगाडि बढाउँछ भन्ने संकीर्ण मानसिकतालाई पन्छाउन जरुरी छ । छोराछोरी दुवै सन्तान हुन दुवैले एउटै प्रक्रिया पार गरेर जन्मिएका हुन्छन्, दुवैलाई समान व्यवहार गर्नुपर्छ भन्ने मानसिकताको विकास जब पितृसत्तात्मक शासन व्यवस्थाको रखवाली गरेर बसेकाहरूमा हुन्छ, त्यो सँगसँगै जुन दिन आमाहरूले अन्याय र अत्याचारविरुद्ध आवाज बुलन्द गर्छन्, त्यही दिनबाट गर्भभित्र पनि र गर्भबाहिर पनि छोरीहरू सुरक्षित रहन्छन् ।(नयाँ पत्रिका)

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com