अवैध उत्खनन रोक्न जाँदा टिपरले किचेर मारिए दिलीप

२५ पुस, जनकपुरधाम । मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतो भोपालमा इन्जिनिरिङ पढ्दै थिए । तर विदामा घर आउँदा राजनीतिक विषयहरुमा चासो राख्थे, नगरपालिकाको काम कारबाहीबारे सोधीखोजी गर्थे ।

गाउँलाई जोखिममा पारेर नदी तथा खोलाहरुमा अवैध उत्खनन भएकोमा विरोध गर्थे । उनकै अगुवाईमा युवाहरुले आन्दोलन गरेपछि स्थानीय खोलामा अनियन्त्रित उत्खनन रोकिएको थियो । तर नगरपालिकाले मेसिन प्रयोग नगर्ने गरी ४ करोड ५१ लाख रुपैयाँमा नदीजन्य गिट्टी बालुवा उत्खनन गर्न ठेक्का दिएकझ थियो ।

नगरपालिकाले मेसिन प्रयोग गर्न रोक लगाए पनि क्रसर उद्योगले रातको समयमा खोलामा मेसिन चलाउँथे । मेसिन प्रयोग गरी गिट्टी बालुवा उत्खनन गर्नेमा चुरियामाई बालुवा प्रशोधन उद्योग अगाडि थियो, जसको सञ्चालक विपिन महतो हुन् ।

केही दिनअघि मात्र विदामा घर आएका दिलीपले चुरियामाई उद्योगको बदमासी थाहा पाए । उनले साथीहरुसँग छलफल गरे, त्यसको विरोध गरे ।

दिलीपका बुवा कृष्णा भनिने रामजीवन महतोका अनुसार विपिनले भने तीन दिन अघि मात्र ‘छोरालाई सम्झाइहाल, कतिखेर (ज्यान) जान्छ थाहा छैन’ भन्दै धम्क्याएका थिए ।

महतोका अनुसार उनले ५ कठ्ठा जग्गा क्रसर उद्योगी विपिनले भाडामा लिएका थिए । भाडावापतको २५ हजार रुपैयाँ लिन बाँकी थियो । त्यही पैसा लिन जाँदा विपिनले रामजीवनलाई धम्की दिएर पठाएका थिए ।

उनले यो कुरा छोरा दिलीपलाई पनि भन्नसमेत भ्याएका थिएनन् । शुक्रबार विहान करिव ४ बजेतिर दिलीपलाई उनका साथी रोशन यादवले बोलाएर लगेका थिए ।

त्यही विपिनको क्रसर उद्योगमा टिपरले किचेको ‘हत्या’ भयो । आफूलाई फोन गरेर घटनाबारे जानकारी दिइएको भन्दै वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु यादव भन्छन्, ‘म दौडिएर पुग्दा सबै भागिसकेछन्, रोशनमात्र त्यहाँ थियो ।’

त्यसपछि आफूले प्रहरीलाई खबर गरेको र प्रहरीले मुचुल्कासमेत नगरी शव उठाएको उनले सुनाए । ‘चौकीमा आएपछि मैले कसरी घटना भयो भनेर रोशनलाई सोधेको थिएँ’ वडाध्यक्ष यादव भन्छन्, ‘उनले बताएअनुसार क्रसरमा लाइटहरु अफ गरिएको थियो रे । उनी पछाडि र दिलीप अगाडि गएका थिए रे ।’

दिलीपलाई टिपरले किचिसकेपछि थाहा पाएको र एम्बुलेन्स बोलाउन आग्रह गर्दा क्रसरका सबै भागेको रोशनले आफूलाई बताएको वडाध्यक्ष यादवको भनाइ छ । घटना हेर्दा आफूलाई पनि दिलीपलाई जानीजानी मारेको भन्ने लागेको उनले सुनाए ।

तर दिलीपका परिवारका सदस्य भने रोशन, वडाध्यक्ष यादव र प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार यादव पनि क्रसर उद्योगी विपिनसँग मिलेको आरोप लगाएका छन् । उनकी बहिनी लक्ष्मीले अनलाइनखबरसँग भन्छिन्, ‘वडाध्यक्ष, पुलिस, रोशन र क्रसरवाला मिलेर मेरो दाइलाई मारेका हुन् ।’

पीडित परिवारले तपाईंमाथि समेत आरोप लगाएका छन् नि भन्ने प्रश्नमा वडाध्यक्ष यादव भन्छन्, ‘पीडामा रहेको उहाँहरुले भन्नु एउटा कुरा हो । तर म त घटना भइसकेपछि गएको हुँ । दिलीप त मेरो भाइ जस्तो हो, म उनीसँग सरसल्लाह गरेर काम गर्थेँ । यसबारे सम्बन्धित निकायले छानविन गर्दा हुन्छ ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com