‘दशैँतिहार त अर्काे पटक आउँछ, बाबाआमा कहिल्यै आउनुहुन्न’
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोनाबाट जोगिन सबैलाई आग्रह गरेका छन्। उनले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आउँदै गरेका चाडबाडमा विशेष सचेतता अपनाउन पनि भनेका छन्।
उनले कोरोना आफैँ नसर्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि भनेका छन्। ‘कसैलाई भेट्नै परे सामाजिक दूरी कायम गरौँ। जेष्ठ नागरिकलाई भेट्न परे दूरी राखेर भेटौँ। अंकमाल गर्ने नगरौँ, बुढा बुढीले प्रयोग गर्ने सामान सफा गरौँ, औषधी र खानपानको विशेष ख्याल गरौँ’, उनले भने।
‘ठूला चाडबाड आउँदैछन्। हामी गाउँगाउँ जाँदै छौँ,’ उनले भने, ‘एक पटक सोचौँ कतै हामीले कोरोना त बोकेका छैनौँ। जेष्ठ नागरिकसँग कोरोना सँग लड्ने क्षमता कम हुन्छ। उहाँहरुलाई संक्रमण भए अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ। त्यसैले दशैँ अर्काे पटक पनि आउँछ। बा आमा कहिल्यै आउनुहुन्न।’